डडेल्धुरा : डडेल्धुरामा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ। सात पहाडि जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरामा बिहीबारदेखि कोरोना परीक्षण थालिएको हो। नागरिकस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको पीसीआर मेसिन जडानसँगै डडेल्धुरा अस्पतालले कोभिड-१९ को परीक्षण सुरु गरेको अस्पताल प्रयोगशालाका इन्चार्ज इश्वरी भुसालले जानकारी दिए।
‘पीसीआर मेसिन जडान तथा भ्यालिडेसन बिहीबार सफल भएपछि शुक्रबारबाट नमुना परीक्षण सुरु गरिएको हो, ‘इन्चार्ज भुसालले भने, ‘पहिलो परीक्षण गरेका १२ जनाको रिपोर्ट आएपछि पुनः परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको ल्याबमा पठाइने छ। उता पनि यहाँको जस्तै रिर्पोट आए परीक्षणलाई निरन्तता दिइनेछ।’
मेसिन जडानका लागि काठमाडौँबाट आएका इन्जिनियर, डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल र धनगढीस्थित सेती प्रादेशीक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीलगायतको टोलीले पीसीआर मेसिनको गुणस्तर परीक्षण गरेका थिए।
एकपटकमा ९६ नमुना परीक्षण गर्ने सक्ने क्षमताको मेसिनमा आवश्यक जनशक्ति व्यवस्थापन स्थानीय तहहरुको सहकार्यमा गरिने अस्पताल विकास समितिका अध्यक्ष कारुणाकर ओझाले बताए।
प्रतिक्रिया